थारुलाई भारतिय भन्ने राधाकुमारी ज्ञवालीलाई मुखैमा ठुलो झाप्पड (पढ्नुस र सेयर गर्नुस्)

Thursday, 20 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखक :- कारी महतो थारु,,
सत्तारुढ दल नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका हजारौं बिघा जमिन चौधरीहरुको नाममा रहेको र उनीहरु सबै भारतीय भएको आरोप लगाएको समाचार केहि अनलाईनहरुमा प्रकाशन भएपछि समाजिक सञ्जालहरुमा उनको विरोध भइरहेको देखिन्छ । गत जेठ २ गते सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले उक्त आरोप लगाउँदै विदेशीका नाममा रहेको जग्गा नेपाल सरकारको वा जोतभोग गरिरहेका नेपाली नागरिकको नाममा ल्याउनुपर्नेमा धारणा राखेकी छन् । सबै जग्गाहरुलाई एकीकृत गरी सहकारीको मोडलमा गएर जग्गाको उपभोग गर्नेतर्फ सोच्नुपर्ने तथा ऐलानी जग्गा उपभोग गर्दै आएकाहरुको हकमा पनि बसोबासको व्यवस्था गरी बाँकी जग्गा सहकारीकै मोडलमा लगेर उत्पादन बढाउनेतर्फ ख्याल गर्नुपर्ने उनको विचार रहेछ ।
नेतृ ज्ञवालीको भनाईमा के कति सत्यता छ उनैले जानून् । तर उनको भनाई र शब्दचयन आपत्तिजनक छ । विगतमा “चौधरी” शब्दलाई एउटा पदको रुपमा लिइन्थ्यो । तर वर्तमान समयमा यो पद नभई थरको रुपमा लेखिन्छ, यो त सबैलाई थाहा भएको कुरा हो । नेतृ ज्ञवालीले जमिन्दार शब्द प्रयोग गरेको भए चौधरी थारुहरुलाई कुनै आपत्ति थिएन । तर जुन तरिकाले प्रयोग भयो यो निकै अपमानजनक तरिकाले प्रयोग गरिएको देखिन्छ ।
नेतृ ज्ञवालीको आशय थारुहरुको चित्त दुखाउने नभई सीमाक्षेत्रमा भएका जग्गाजमीनको सुरक्षाको लागि हो जस्तो लाग्छ । भारतीय नागरिकको अधिनमा नेपालको भूमि भए त्यसको सुरक्षाका लागि नेपाल सरकारले सकारात्मक कदम चाल्नु नै पर्छ । ऐलानी जग्गा उपभोग गर्ने थारुहरु नेपाली नागरिक भएपनि जग्गाको लालपुर्जा भने नभएको प्रशस्त उदाहरण छ ।
नेताहरु कुनै किसिमको पहलकदमी नदेखाउने र भाषणमा मात्र सीमित हुने भएकोले नेपाली जनतामा निराशा छाएको छ । यहि बीचमा केहि तत्वहरुले खेल्ने र नेपालीहरु बीचमा बैमनस्यता पैदा गर्ने समय पाएको देखिन्छ । तर कतिपय कुरामा राज्यको उच्च ओहदामा रहेका व्यक्तिहरुको गैरजिम्मेवारीपूर्ण भनाई र वक्तव्यका कारणले नागरिकहरुमा सिंगो राज्यले नै आफूप्रति कुदृष्टि राखेको बुझाई हुन्छ ।
सन् १९८९ मा अमेरिकाको एक प्रतिष्ठित कलेजका एन्थ्रोपोलोजी प्रोफेसर अर्जुन गुनेरत्ने एउटा रिसर्च परियोजना लिएर नेपाल आएका थिए । नेपाल आएर एक केन्द्रीयस्तरकै उच्चअधिकारीसँग फोनमा कुराकानी भएको रहेछ । फोनवार्ताको क्रममा आफू नेपालका थारु बारे रिसर्च परियोजना लिएर आएको बताउँदा उक्त अधिकारीले “ओ, दोज इन्डियन्स !” भनेर प्रत्युत्तर दिएको कुरा सन् २०१० मा प्रकासित उक्त रिसर्च पेपरको पहिलो अनुच्छेदमै उल्लेख गरेका छन् ।
त्यस उच्चअधिकारीको जस्तै अपहेलनाको भावना नेपालको ऐतिहासिक दस्तावेजमा पनि प्रष्ट देखिन्छ । त्यहि कुरालाई नेतृ ज्ञवालीले निरन्तरता दिएका छन् ।
सन् १७९३ सालमा रणबहादुर शाहले जारी गरेको प्रशासकीय नियमको दफा–४, १०, १५ र २१ मा किटेरै थारु वा चौधरीको जग्गामा कर लगाउने, जफत गर्ने कुराहरु उल्लेख गरिएको छ । दफा १० मा “चौधरीको खटन पटनमा रहेको भूमि आदि, त्यस क्षेत्रमा के कुरामा (अथवा कुन कुन शीर्षकमा) कर लगाउन सकिन्छ भन्ने बारेमा निक्र्यौल गर्ने ।” भनी उल्लेखित छ । दफा २१ मा “करयोग्य जग्गाहरु अधिकारविना चौधरी अथवा अरु कुनै व्यक्तिको नाममा रहेको पाइएमा त्यस्ता जग्गाहरु राख्ने व्यक्तिलाई जरिवाना गरिनेछ ।” भनेर लेखिएको छ ।
खेती गरेर अन्न उब्जाउने, बन्जरभूमिलाई बसोबासयोग्य बनाई आवाद गर्ने, कर संकलन गरी युद्धका लागि ठूलो धनराशी नेपाल सरकारलाई बुझाउनेदेखि लिएर नेपाल—अंग्रेज युद्धमा ढाल बनेर थरुहट भूमिको सीमाक्षेत्रमा रक्षा गर्नेहरु मध्ये तराईका भूमिपूत्र मूलवासी थारुहरु पहिलो नम्बरमा थिए । प्रोफेसर अर्जुन गुनेरत्नेले “थारु–स्टेट रिलेशन्स इन नेपाल एन्ड इन्डिया” मा ब्रिटिश मिसिनरीलाई उधृत गर्दै उल्लेख गरेका छन् “थारु महिलाहरु शक्तिशाली बोक्सी हुन्छन् तिनीहरुमा देसी वा जंगली जनावर बनाई दिने या त ज्वरो लगाएर बिस्तारै मारिदिने पावर हुन्छ भन्ने बाहिरकाले विश्वास गर्थे ।” यो कुरा थरुहटभूमि भन्दा बाहिरका बासिन्दाको विश्वास थियो । त्यसैले थरुहट भूमि बोक्सी भूमि हो भनेर भन्ने गरिन्थ्यो । यहि जनविश्वास नै थारुहरुको पक्षमा नेपाल—अंग्रेज युद्धमा क्षेप्यास्त्रको काम गरेको थियो ।
वर्तमान समयमा बोक्सीप्रति विश्वास गरिदैन । तर विगतमा त विश्वास गरिन्थ्यो । त्यहि विश्वासका कारण कोहि पनि बाहिरियाहरु थरुहट बस्तीमा प्रवेश गर्ने हिम्मत गर्थेन । तर बोक्सी शक्तिको वास्तविकता अर्कै थियो । त्यो के हो भने थारुहरुमा मलेरिया पचाउने शक्ति थियो । तराई भूमिमा थारु बाहेक कोहि पनि बाँच्दैनथे । त्यसैले बाहिरियाहरु यहाँ हिड्नडुल्न पनि आउदैनथे ।
वैज्ञानिक खोज अनुसन्धानबाट यो पनि पत्ता लागेको सुनिन्छ कि जसको पुर्खाहरु कम्तिमा तीन हजार वर्षभन्दा बढी समय एउटै भूमिमा निरन्तर बसोबास गर्दै आउँछ, ती पुर्खाका पुस्तौं पुस्ता पछाडिका शाखासन्तानहरुमा औलो प्रतिरोधात्मक शक्तिको विकास हुन्छ । त्यहि शक्तिका कारणले थारुहरु तराईको घना जंगलमा बाँच्न सफल भएका थिए ।
अहिले त्यो मलेरिया सिकलसेलको रुपमा देखिएको छ । एकजना विद्वानले भनेका थिए नेपाल सरकारले मलेरिया उन्मुलनको नाममा जथाभावी आवश्यकताभन्दा बढी औषधी छर्केर मलेरियासँग जुध्ने प्रतिरोधात्मक शक्ति नै सिकलसेलको रुपमा देखिएको हो । यो कुरा त अनुसन्धानकै विषय हो । तर एक प्रतिष्ठित पत्रिकामा प्रकाशन भएको लेख अनुसार ६०–७० प्रतिशतसम्म रक्तकोषहरु हँसियाजस्तो बाङ्गो भएको अवस्थामा मलेरिया प्रतिरोधात्मक शक्ति प्रशस्त हुन्छ र ७० प्रतिशतभन्दा बढी रक्तकोषहरु बाङ्गिएमा त्यस अवस्थालाई सिकलसेल भएको भनिन्छ ।
अहिले सिकलसेल थारुहरुमा देखिएको एउटा गम्भीर समस्या हो । तर यो एउटा प्रमाण पनि हो कि थारुका पुर्खाहरु पुस्तौं पुस्ता कम्तिमा पनि तीन चार हजार वर्षभन्दा अगाडिदेखि निरन्तर यहिं भुमिमा विचरण गर्दै आएका मानव हुन् ।
सुगौली सन्धिमा नेपाल सरकारले नेपालको भूमिलाई ब्रिटिश सरकारलाई सुम्पिदा थारुहरुले जोगाएको भूमि पनि दुई चिरा पर्न गयो । त्यसबेला थारु रैतिहरुलाई भनिएको थियो तिमिहरुलाई जुन देशमा रहन बस्न मन लाग्छ त्यहिं बस्न कुनै रोकतोक हुने छैन । त्यस अवस्थामा एउटा भाईको परिवार सीमावारि र अर्को भाईको परिवार सीमापारी हुने अवस्था आउँदा पनि यो समुदायले आफ्नो बासस्थान छोडेन । न उताका थारु यता आए, न यताका थारु उता गए । जो सीमापारि छुट्टिए, उनीहरु अहिले भारतीय कहलिए । जो सीमावारि रहेका छन् उनीहरु नेपाली । भारतका उच्चअधिकारी र नेताहरुले सीमापारिका थारुहरुलाई कहिल्यै पनि गैरनागरिकको बिल्ला भिराएर हेपेनन् । तर नेपालका शासकहरुले अनेक बहानामा शोषण गरिरहे ।
जसले देशको सीमारक्षा गरे सीमारक्षकहरुलाई भारतीय भन्ने उपमा दिने नेता र उच्चअधिकारीलेहरुले आफ्ना पुर्खाहरु कहाँबाट नेपाल प्रवेश गरेका हुन् एकपटक इतिहास पल्टाएर गहिरो अध्ययन गर्न आवश्यक छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu