नेपालको राष्ट्रिय युद्धहरुमा थारुहरुको सच्चा राष्ट्रवादी चरित्र : कारी महतो ( थारु )।

Friday, 22 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[ कारी महतो / चितवन ]

हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दै आएका थारु समुदायले विभिन्न कालखण्डमा देशका लागि निरन्तर अनेकौं योगदान गर्दै आइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रह्यो भने कतिपय कुरा दस्तावेजको रुपमा प्रकाशनमा आएको छ । ती मध्ये एकीकरण पूर्व र एकीकरण पश्चात नेपालका सीमा बाहिरका  दुश्मनले आक्रमण गरेको समयमा थारु समुदायले खेलेको उल्लेखनीय भूमिकाहरु बारे चर्चा गर्न सान्दर्भिक देखिन्छ ।

प्राचीन काल र थारु समुदाय : 

यारी हे…ऊ… उत्तरल भादो चढली कुँवार

घर घर बेनी हजरारे बेगारी चलाय ।

कुटलीमा चिउरा, चाउर बान्हलीमा भाररे

सपरुरे भिरिहारे दोलखा नेपाल रे । सपरहुरे…

यारी हे…ऊ… बाङलीमा चिउरा चाउरक भार रे हो …

सपरह भरिहारे दोलखा नेपाल । सपरह …

एकओरि बाङलीमा नुन तेलक भार हो …

एकओरि बाङलीमा तिउनाक भार हो रे । एकओरि …

यो “दोलखा नेपाल” नामक निकै ऐतिहासिक गीतिकथाको एउटा सानो अंश हो । चितवन जिल्लाका थारु समुदायमा प्रचलित यो गीत अहिले पनि केहि थारु महिला र पुरुषहरुमा मुखाग्र छ । यो गीत रोपाइँमा गाउने गरिन्छ । गीतलाई झुमरी नाचमा निकै रोचकपूर्वक घण्टौंसम्म नाटकीय रुपमा पनि प्रस्तुत गरिन्छ । यो गीतिकथाको भाव संक्षेपमा यस्तो छ – ‘बाहिरी दुश्मनसँग युद्ध भैरहेको समयमा गाउँका हरेक घरका पुरुषहरु देशका सिपाहीहरुका लागि विभिन्न खाद्यपदार्थ पु¥याउन दोलखा जान्छन् । खाद्यान्न पु¥याउन गएका एक नवविवाहित युवकलाई हतियार दिएर षडयन्त्रपूर्वक लडाई गर्न पठाइन्छ । युद्धमा उनको मृत्यु हुन्छ । युवकलाई युद्धमा पठाउने षडयन्त्रकारीले घर फर्केर युवकको नवविवाहिता श्रीमतिसँग दोश्रो विवाहको प्रस्ताव राख्छ । तर युवतीले आफ्नो श्रीमानको लाश हेर्न चाहन्छ । युवकको लाश आउँछ र अन्तमा युवती श्रीमानसँग सती जान्छ ।’

प्राचीन समयदेखि यो घटनालाई गीत र नाचको माध्यमबाट थारु समाजमा गाउँदै र नाच्दै आइरहेको पाइन्छ । यो गीतमा थारु समुदायले युद्धरत सिपाहीहरुका लागि चामल, चिउरा, दाल, तरकारी, नुन, तेल इत्यादि खाद्यान्नका भार बोकी पैदल हिडेर दोलखा नेपालसम्म पनि पुगेको बुझिन्छ । सिपाहीहरुको भरणपोषणका लागि दोलखासम्म पुगेका थारु समुदाय आफ्नै वरपर भएको अरु युद्धहरुमा झन ठूलो भूमिका निर्वाह गरेको थियो ।

सेन–मुगल युद्ध र थारु समुदाय: 


नेपालको एकीकरण हुनुभन्दा अगाडि तराईमा सेन राजाहरुले शासन गरेका थिए । त्यसबेला भारतका मुगलहरुले निकै दुःख दिन्थे । त्यसबेला सेन र मुगल बीच बेलाबेलामा युद्ध चलिरहन्थ्यो । थारु भाषामा अहिले पनि “मोगल नहिया चिचुरिहर” भन्ने थेगो प्रचलित छ ।  मकवानपुरका सेन राजाको राज्यकालमा भारतका मुगल शासकसँग लडाइँ हुँदा नौरंगिया प्रगन्नाको सीमानामा भूपाल राय थारुले वीरगति प्राप्त गरेका थिए । भूपाल रायले वीरगति प्राप्त गरेपछि उनका छोरा दर्पनारायण रायले पर्सा जिल्ला नौरंगिया प्रगन्नाको वलुवा मध्ये ढोली गाउँ मरवट विर्ता पाएका थिए । दुर्भाग्यवश धेरै समयको अन्तरालमा मरवट पाएको लालमोहर हराएछ । त्यसपछि भूपाल रायका तीन पनातिहरु अर्थात दर्पनारायण रायका नातिहरु मोति राय, शिवनाथ राय र गरवार थारुले राजा राजेन्द्रविक्रम शाह समक्ष निवेदन दिए । त्यो निवेदनमाथि राजा राजेन्द शाह्रले अनुसन्धान गर्न लगाएछ र अन्तमा त्यो सत्य भएको निश्कर्ष निकाली मरवट विर्ता थामिएको बारे अर्को लालमोहर जारी गरिदिए । जुन ऐतिहासिक पत्र नं. ३५ मा प्रकाशन भएको छ । उक्त लालमोहरमा मोति राय, शिवनाथ राय र गरवार थारुको नाममा मरवट विर्ता थामिएको व्योहोरा छ । तराईका सेन तथा भारतका मुगल शासकहरु बीच भएको लडाइँमा थारुहरुले सैनिकको भूमिका पनि निर्वाह गरेको देखिन्छ । यो दस्तावेजले थारुहरु खेतीपाती मात्र होइन देशका लागि बलिदान हुँदै आएको जातिको रुपमा समेत प्रमाणित भएको छ । तराईका सेन राजाका लागि भारतको मुगल शासकहरुसँग लडाइँ गरी शहादत्त प्राप्त गरेका थारुका सन्तानहरुले पाएको मरवट विर्ता एकिकरण पश्चात शाह राजाहरुले पुनः थमौति गरिदिएको दस्तावेजले प्रष्ट पारेको छ।

नेपाल–अंग्रेज युद्ध र थारु समुदाय : 

वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म नेपाल–अंग्रेज बीच युद्ध चल्यो । त्यस युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ । थारुहरुले प्राप्त गरेका कतिपय लालमोहरहरु विभिन्न समयमा आगलागी, बाढी लगायत प्रकोपहरुमा नष्ट भएपनि ऐतिहासिक पत्र नं. ३१ एउटा प्रतिनिधि दस्तावेज हो । त्यस युद्धमा पर्सागढीमा भएको लडाइँमा रंजित चौधरीले उल्लेखनीय मेहनत गरेको रिझवापत पर्सा जिल्ला, सिधमास प्रगन्नामध्ये वसडिलवा र लोरिआड गरी दुई गाउँहरुमा वि.सं. १८७२ वैशाखदेखि जलकर, वनकर आदि दस्तुर उठाई सरकारलाई बुझाउनुपर्ने जिम्मेवारी सुम्पेको विषय उल्लेख छ । त्यस जग्गामा आवाद तथा गुल्जार गरी त्यसबाट हुने उत्पादन उपभोग गर्ने तथा सन्तानदरसन्तानसम्म वेषवुन्यादको काम गर्न पाउने व्यवस्था गरिदिएको कुरा यो दस्तावेजमा लेखिएको छ ।

विगतमा सिपाहीहरुको भरणपोषणका लागि तराईका थारुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको कुरा निरन्तर कायमै थियो ।  विभिन्न समयमा हुने युद्धको लागि खर्च जुटाउन तराईका थारुहरु समर्थ थिए भनेर कुर्त मेयर, जिसेल क्राउसकोफले पनि उल्लेख गरेका छन् । नेपाल–अंग्रेज युद्धमा नेपाली फौजलाई हराउनका लागि अंग्रेजहरुको सामरिक चाल अन्तर्गत अंग्रेजले तराईका थारुहरुलाई खाद्यान्न उत्पादन गर्न बन्देज गरिदिएका थिए । खाद्यान्नको अभावमा नेपाली सेनालाई भोकमरीमा पारी कमजोर बनाएको कतिपय विश्लेषकहरुले उल्लेख गर्ने गरेका छन् ।

सुगौली सन्धी र थारु समुदाय : 

नेपाली राजनीतिमा सुगौली सन्धीको कुरा व्यापक स्मरण गरिन्छ । नेपाल–अंग्रेजको युद्धको बीचमा भएको यो सन्धिमा पनि घुमाउरो तरिकाले थारु समुदायबारे बोलेको छ । थारु भनेर किटान त छैन तर स्पष्ट बुझ्न सकिन्छ । सन् १८१५ डिसेम्बर १ मा लिखित सन्धिपत्र १८१६ मार्च ४ मा नेपाल सरकारलाई प्राप्त भएको हो । उक्त सन्धिपत्रका लागि राजाको सहमति र स्वीकृतिका लागि डिसेम्बर ८ मा इस्ट इन्डिया कम्पनीले पुनः स्मरण पत्र पठाएको थियो । जसलाई पुरक सन्धी पनि भन्ने गरिन्छ । उक्त स्मरण पत्रमा राजाको मन जित्नका लागि नेपालका केहि भूभाग फिर्ता दिइएको ब्योहोरा उल्लेख छ ।

स्मरण पत्रको धारा ७ मा यस्तो उल्लेख छ – “युद्धको अवधिताक बेलायत सरकारको पक्षलाई समर्थन गर्ने तराईका कुनै पनि बासिन्दाहरुलाई नेपालका श्री ५ महाराजधिराजको शासनमा फर्केपछि अभियोग नलगाउने कुरामा मौसुफ सहमत होइबक्सन्छ र जमिनमा खेती गर्नेहरुदेखि बाहेक ती प्रजाहरुमध्ये कोहि आफ्ना भू–सम्पत्तिहरुलाई छोड्न इच्छुक भई कम्पनीकै इलाकाहरुमा बस्ने भएमा तिनलाई कुनै बाधा पु¥याइने छैन ।” त्यससमयमा तराईमा खेती गर्ने थारुहरु नै थिए । यो धाराले थारु समुदायको बारेमा जेसुकै भन्न खोजेको भएतापनि थारु समुदायलाई कुनै प्रभाव पार्न सकेन । जमिनमा खेती गर्न छाडेर इस्ट इन्डिया कम्पनीको इलाकाहरुमा बस्न थारुहरु गएनन् । जहाँ छन् त्यहि ठाउँमा रहिरहन रुचाउने थारु समुदायको यो वंशानुगत विशेषता नै हो।

सन्धिको स्मरण पत्रको धारा २ बाट अंग्रेजले थारु समुदायलाई दुई टुक्रामा विभाजन गरेको पनि प्रष्ट छ । त्यस धारामा नेपालका तत्कालीन राजालाई फकाउनका लागि तराईका इलाकाहरुमध्ये तिरहुत र चम्पारन जिल्लाका विवादग्रस्त जमिनहरु बाहेक केहि भूभाग फिर्ता दिएको उल्लेख छ । चम्पारन जिल्ला चितवनसँग जोडिएको भूभाग हो भने तिरहुत चाहि सिरहा, सप्तरीसँग जोडिएको भूभाग देखिन्छ । अहिले पनि चितवनका थारु समुदायका आफ्नै परिवार कोहि सीमापारी र कोहि वारी रहेका छन् । तर पनि अंग्रेजको सीमाभित्र रहेका थारु परिवार स्थायी रुपमा नेपाल आएनन् । नेपालको सीमाभित्र रहेका थारुहरु पनि अंग्रेजको सीमाभित्र बसाइ सर्न गएन । सुगौली सन्धी भएको दुई सय वर्षभन्दा बढी भएको छ । चितवनमा रहेका केहि थारुजनहरु अहिले पनि चैतेदशैंको समयमा सीमापारी लाग्ने एउटा निकै ठूलो मेला (डेवाढ मेला) घुम्न जाने गर्छन् र आफ्ना पुराना आफन्तहरुको घरमा पाहुना बनेर मेजमानी गरेर फर्केको सुनाउँछन् ।

उता तिरहुतको पनि उस्तै अवस्था छ । सप्तरीमा अहिले पनि तिरहुत गाउँपालिका रहेको छ । भारतमा तिरहुता नामक ठाउँ छ । गुगल म्यापमा सर्च गर्दा तिरहुत नामको स्कुल, कलेज, लगायत थुप्रै संस्थाहरु भारतको बिहारमा छ । चम्पारन र तिरहुतको प्रमुख बासिन्दा थारुहरु नै थिए । सन् १६०५ मा तिब्बतका तारानाथद्वारा लिखित “बुद्ध धर्मको इतिहास” मा चम्पारनलाई थारुहरुको व्यापक बसोबास गरेको क्षेत्रको रुपमा प्रस्तुत गरिएको कुरा डा. क्राउसकोफले एक प्रसङ्गमा उल्लेख गरेका छन् । अर्को प्रसङ्गमा मुसलमान विद्वान अल्बेरुनीले १०३३ मा भारतको भौगोलिक प्रस्तुतिमा यसरी लेखेको उल्लेख गरेका छन् –“कन्नोजबाट पूर्वतिर हिँडेपछि वारी र त्यसपछि बिहात भन्ने ठाउँमा आइपग्छौं । त्यहाँबाट पनि अघि बढेपछि दायाँतिरको गाउँलाई तिल्वट (तिरहुत अथवा मिथिला) भनिन्छ, त्यहाँका बासिन्दालाई तरु (तारु) भनिन्छ । (तिनिहरु तुर्कहरुजस्ता निकै काला वर्णका छन् ।) त्यसपछि कम पहाडी क्षेत्रतिर आइन्छ… तिल्वटको विपरित दिशातिर बायाँतिरको देश… नेपाल ।” यी दुवै प्रसङ्गबाट प्रष्ट हुन्छ कि चम्पारन र तिरहुतका मुख्य बासिन्दा थारुहरु नै थिए । तर सुगौली सन्धीले थारुका एउटै परिवारलाई फुटाएर दुई देशका नागरिकको रुपमा विभाजन गरिदिए । तर भूमिपुत्र थारुहरुले आफ्ना भूमि छाडेनन् । आफ्नै माटोलाई स्याहार गरिरहेका छन्।

निश्कर्ष : 

नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ । तर त्यो भारतकै कब्जामा छ । त्यसबाहेक भारतले योजनाबद्ध रुपमा कैयौं ठाउँमा सीमाना मिचिरहेको छ । ती मिचिएको सबै भूभागहरु हाम्रो देशको अधिनमा आउँनैपर्छ । तर नयाँ नक्सा सार्वजनिक हुँदै गर्दा कतिपय दलका नेताहरुले खुट्टा कमाएका छन् भने कथित मधेसवादी दलका केहि नेताहरुले घुमाउरो तरिकाले भारतको समर्थन गर्दै आएको बुझिन्छ । तर थारु, मधेसी, आदिवासीजनजाति, दलित, मुस्लिम लगायत सम्पूर्ण नेपाली जनताको भावना एउटै छ । सीमा सुरक्षाका लागि सबै एकढिक्का हुनुपर्छ ।

यतिखेर फेरि पनि थारु समुदायका छाता संगठन थारु कल्याणकारिणी सभा लगायत आन्दोलनरत थरुहट थारुवान राष्ट्रिय मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी समग्र थारु समुदायलाई पुनः राष्ट्रियताको पक्षमा उभ्याएको छ । यद्यपि थारु समुदायका माग र मुद्दाहरु नेपालको संविधान अझै अटाएको छैन । थारुका आवाजलाई राज्यले अझै सम्बोधन गर्न सकेको छैन । कुनै दिन ती समुदायका सवालहरु संविधानमा समावेश गर्नका लागि संविधान संशोधन हुने नै छ । संशोधन गरिनुपर्छ । तीन करोड जनताहरुलाई एकसूत्रमा बाँधेर राष्ट्रिय हित र सीमा सुरक्षामा परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो । देशको सीमा सुरक्षा गर्नुपर्ने हामी सम्पूर्ण नेपालीहरुको महत्वपूर्ण दायित्व हो । सीमारक्षाका लागि सम्पूर्ण जनतालाई परिचालित गरिनुपर्छ । नेपाल आर्मीको अधिनमा रहनेगरी सबैलाई सैन्य तालिम दिइनुपर्छ र निश्चित उमेर समूहका युवाहरुलाई कम्तिमा दुई वर्षका लागि अनिवार्य रुपमा सैनिक सेवा गर्नुपर्ने बाध्यात्मक कानून बनाइनुपर्छ ।

सन्दर्भ श्रोतः

१. जिसेल क्राउसकोफ, जंगलदेखि जमिनसम्मः थारु इतिहासतिर एक दृष्टि

२. तेजनारायण पंजियार, मेरा आफ्नै शब्दमा थारु जातिको विगतको खोजीमा

३. कुर्त मेयर, नेपालका राजा र तराईका थारुहरु

४. महेश चौधरी, नेपालका तराई तथा यसका भूमिपुत्रहरु

५. सीता चौधरी, दोलखा नेपाल, थारु गीतिकथा

६. तुलसी तिरहुत थारु, तिरहुत माइझ थारु संक्षिप्त जीवनी र तिरहुत वंशावली एक परिचय

७. विभिन्न मिडिया र पत्रपत्रिकाहरु

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu