उनले बाबासँग लडेर लिएको लालपूर्जा ।

Friday, 24 July 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कञ्चनपुर:= कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ भमरभोजकी ५६ वर्षीया भौनीदेवी चौधरीका चार छोरी छन्। बसन्ती, जयन्ती, सपना, र उर्मिला ४ छोरी छन्। २१ वर्षीया उर्मिला कान्छी छोरी हुन्। 

भौनीबाट छोरा नजन्मेको भन्दै उनका श्रीमानले दोस्रो बिहे गरे। त्यतिबेला उनकी कान्छी छोरी उर्मिला आठ वर्षकी थिइन्।बाबाको बिहे सम्झेर उर्मिलालाई नरमाइलो लाग्छ। 'मलाई बाबाले कहिल्यै माया गर्नुभएन। जब म ८ वर्षकी थिएँ, छोरा भएन भनेर बाबाले दोस्रो बिहे गर्नुभयो। तर पनि मलाई त उहाँको माया लाग्छ।' उनलाई लाग्छ बाबाले आफ्ना दिदी र आफूलाई सन्तान मान्न सकेनन\चाहेनन्। उनलाई आफ्नी आमा र बाबाको कहानी सबै थाहा छ। चार छोरी जन्मिएपछि छोरा किन नजन्माएको भन्दै बाबाले आमासँग झगडा गर्न थाले। 'यही कुरालाई लिएर बाबाले आमालाई पटक-पटक पिट्नुहुन्थ्यो,' उनले भनिन्। बाबालाई मात्र उनी दोष दिन चाहन्नन्। परिवार र छिमेकीहरू पनि बाबालाई छोरा नभइ हुन्न है भनेर उक्साउँथे। छिमेकीले नै बुवाको दोस्रो बिहे गर्न सघाए। चार छोरीकै अघि बाबाले कान्छी आमा ल्याए। आफूहरू बस्ने पुरानो घरको आँगनमै नयाँ घर बनाए। दुबै त्यता बस्न थाले।

कान्छी आमा घरमा ल्याएको दिनदेखि बाबा पहिलाभन्दा झन् निर्दयी हुन थालेको अनुभव उनलाई भयो। 'हामीलाई पहिले भन्दा निकै बढी वेवास्ता गर्न थाल्नुभयो। मद्दत गर्न छोड्नुभयो,' उनले भनिन्, 'हामी त टुहुराजस्तै भयौं।' हुँदाहुँदा उनका बाबाले घर नै सारे। उनीहरूलाई हेर्नुको साटो झगडा गरेर केहीपर खेतको बीचमा घर सारे। थप टाढिए। कान्छी आमाबाट भाइ जन्मियो। फेरि उनकी आमालाई बाबा, परिवार र समाजले छोरा नजन्माएकी भन्न थाले। बाबा टाढिएपछि घरखर्च चलाउन, पढाइलेखाइ गर्न र खेतीकिसानी गर्न उनीहरूलाई गाह्रो हुँदै गयो। खेतीपाती लगाउने मौसममा उनका बाबाले कहिल्यै सघाएनन्। उल्टै तिमीहरूको यो जमिनमा कुनै हक छैन, भनेर धम्काउन थाले। 'खेती नलगाए भोकै बस्नु पर्ने अवस्था थियो,' उर्मिलाले सुनाइन्। बाबाले झगडा गरेकै कारण केही वर्ष आधा जमिन बाँझै छोड्नु पर्‍यो रे। चार वर्ष पहिले उनकी दिदी जयन्ती बिरामी परिन्। त्यो बेला पैसाको खाँचो भयो। जमिनको एक टुक्रा बेच्न पाए भन्ने कुरा उठ्यो। यो कुरा बाबालाई पनि भने। त्यतिबेला खुब झगडा भएको उर्मिला सम्झन्छिन्। 'बाबाले जमिन बेचे भन्दै खुब गाली गर्नुभयो। जमिनमा तिमीहरूको के अधिकार छ? भनेर धम्काउन थालेपछि हामीहरू डरायौं,' उर्मिलाले भनिन्, 'गाली गरेरै भए पनि त्यो बेला जमिन बेचिदिए।'

बाबाले भने मन लागेका बेला जमिन बेच्थे। एकपटक १७ कठ्ठा जमिन बेचे। यो कुरा उनीहरूले पछि थाहा पाए। बाबाले छोरीहरूलाई केही दिन्न भन्न थालेपछि आमालाई परिवारको खर्च टार्न साह्रै गाह्रो हुन थाल्यो। चारै बहिनीको पढाइ खर्च उनीहरूको सबैभन्दा चिन्ताको विषय हुन्थ्यो। हुन पनि बाबाले स्कुलको शूल्क तिरिदिन छोडे। जब शूल्क तिर्ने बेला आउँथ्यो, आमा सापटी माग्न गाउँ निस्किन्थिन्। उनीहरूको मनमा गाँठो पर्थ्यो। आफ्नो नाममा सम्पत्ति नै नभएपछि उनीहरूका समस्या बढ्न थाले। 'हामीले पनि केही जमिन पाउनुपर्छ भन्ने खबर आमाले बाबालाई खबर पठाउनु भयो तर उहाँले दिन्न भन्नुभएछ,' उनले सम्झिइन्। आमाले आफ्नो अंश पाउन मुद्दा हालौं भनेर छोरीहरूसँग कुरा गर्न थालिन्। तर कसरी मुद्दा हाल्ने उनीहरूलाई थाहै थिएन। मुद्दा हाल्ने बल पनि आमालाई छोरीले अंश पाउने कानुन आएको छ भन्ने सुनेपछि आएको रहेछ। आमाले २०७३ को माघतिर बाबाविरूद्ध अंश मुद्दा हाल्नुपर्छ भन्दा उनीहरू निकै डराएका थिए। छोरीहरूलाई यो उपाय सुरूमा ठिक लागेको पनि थिएन। 'आमालाई हामीले उल्टै सम्झायौं। यसरी त छिमेकीले फेरि हामीलाई नै बाबाविरूद्ध मुद्दा हाले भनेर सराप्छन्, राम्रो मान्दैनन् जस्तो लागेको थियो,' उर्मिलाले भनिन्। अर्को वर्ष असारमा खेती लागाउँदा फेरि बाबाले दु:ख दिए। फेरि आमाले मुद्दा हाल्ने अडान दोहोर्‍याइन्। ठूली दिदी बसन्तीको १२ कक्षा पढ्दापढ्दै बिहे भएको थियो। आमाको अडानपछि बाँकी तीन बहिनीले सल्लाह गरे। आमासहित उर्मिलाका तीनै बहिनी बाबाविरूद्ध मुद्दा हाल्न तयार भए। सुरूमा मामासँग कसरी मुद्दा हाल्न सकिन्छ भनेर सल्लाह लिए। यो कुरा सोध्न मामाकहाँ दिदी सपना गएकी थिइन्। मामाले उर्मिलाकी दिदी सपनालाई वकिलमार्फत मुद्दा लेखी अदालत जानुपर्छ भन्ने कुरा सम्झाए। सपनाले त्यसै गरिन्।

मामाको सहयोगमा उनीहरू अदालत गए। अंश मुद्दा हाल्न सुरूमा वकिल खोजे। वकिलले प्रमाण जुटाउन भने। आफूहरूसँग भएका नागरिकता, जन्मदर्तालगायतका कागजात उनीहरूले भेला पारे। वकिलले अंश लाग्ने जमिनको अंशियार खुलाएर फिराद पत्र लेखे। आमालाई साक्षी राखेर तीनै बहिनीले बाबाविरूद्ध २०७४ को असारमा मुद्दा दर्ता गरे।मुद्दा त हाले तर समाज उनीहरूलाई सोध्न प्रश्नैप्रश्न लिएर बसेको थियो। मुद्दा दर्ता गरेको कुरा सुनेपछि छिमेकीले जन्म दिने बाउलाई किन मुद्दा हालेको, अब तिमीहरूलाई कसले राम्रो मान्छे भनेर सोध्न थाले। कतिले त फिर्ता लेउ भनेर समेत भने। 'हामीलाई प्रश्न गर्नेहरूले बाबालाई किन श्रीमती कुटेको? किन छोरीहरूलाई सन्तान नगनेको र छोरा पाउन अर्को विहे किन गरेको? किन छोरीहरूको लालनपालन नगरेको भनेर कहिल्यै सोधेनन्,' उनले भनिन्, 'जब  हामीले  हक खोज्यौं समाज आफन्त सबै हामीलाई मुद्दा हाल्नु ठिक होइन भन्न आइपुगे।' सबैले कुरा काट्न थालेपछि उनीहरूलाई डर लागेको थियो। कतै केही नराम्रो हुने पो हो कि भन्ने डर निकै समय भयो।अर्कातिर बाबा झन् रिसाएर बसेका थिए। आजसम्म त टाढा भएका थिए एकदिन बाबाले उनीहरूलाई भने- अबदेखि तिमीहरूले मलाई बाबा नभन्नु।प्रतिवादी भएका उनका बाबा सुरूमा अदालतले बोलाउँदा पनि गएनन्। अदालतमा उपस्थित हुनु भन्ने म्याद थप भएर पत्र गयो। बल्ल बाबा अदालतमा आएर प्रकृयामा सहभागी भए। प्रक्रिया अघि बढेपछि दिदी सपना महिनामा दुई पटक जति अदालत धाउँथिन्। करिब १७ महिनापछि अदालतले बाबाको सम्पत्तिबाट आमा भौनी, छोरीहरू उर्मिला, सपना र जयन्तीले पाउने फैसला सुनायो।  जेठी दिदीको भने छोरीले अंश पाउने कानुन बन्नुभन्दा पहिले बिहे भएकाले पाइननन्।

२०७५ मंसिर ११ गते अंश पाउने फैसला सुनाउँदा उनीहरू चार जना दंग परेका थिए। 'बल्ल हामी पनि केही हौं भन्ने भयो नि,' उनले भनिन्, 'आमा झन् ढुक्क हुनु भो।' अदालतले फैसला गरे पनि उनका बाबाले अंश दिँदैदिन्न भन्न थाले। उनीहरूलाई फेरि डर लाग्न थाल्यो। तर आफन्त र छिमेकीले उनका बुवालाई अदालतले फैसला  बहिष्कार गरे कारबाही हुन्छ भनेर सम्झाए। बल्ल उनी अंश दिन राजी भए। मुद्दा फैसला भएको १० महिनापछि बुवाले जमिन दिन माने। उर्मिलाले पनि ७ कठ्ठा जमिनको लालपुर्जा पाइन्। 'मलाई त निकै अनौठो लागेको थियो, आफू अर्कै भएजस्तो,' उनले भनिन्, 'अंश पाएपछि पहिलेभन्दा अहिले धेरै सजिलो भएको छ। खेतीपाती लगाउन पनि डरैडरले लगाउनु पर्थ्यो। अहिले त्यस्तो समस्या छैन।' अहिले उनीहरू ढुक्क छन्।
ढुक्क भएको उर्मिलाको मन जब भाइ र बाबाको याद आउँछ तब धेरैबेर विचलित बन्छ। 'भाइ र बाबाको माया लाग्छ। उनीहरूलाई सम्झेर मन बिग्रिन्छ,' उनले भनिन्। भाइ जन्मनुअघि तिहारमा उनीहरूले टीका लगाउन पाउन्नथे। जब भाइ जन्मिए अनि उनीहरूको आँगनमा तिहार आएको थियो। केही वर्षसम्म भाइलाई टीका लगाइदिए। अंश मुद्दा हालेपछि भने बाबाआमाले भाइलाई उनीहरूको घरमा आउनै दिएनन्।

भाइलाई टीका लगाउन नपाएको पनि २/३ वर्ष भयो। जिन्दगीमा केही पाउन केही गुमाउन पनि पर्ने रहेछ भन्ने उनलाई लाग्न थालेको छ। 'आफूले पाउनु पर्ने हकको लागि भने लड्नै पर्छ। कानुनको सहयोग लिए सजिलो हुने रहेछ,' उनले भनिन्, 'हाम्रो समाजमा छोरीमान्छे समस्यामा छन्। उनीहरूले पनि हामीलेजस्तै कानुनको सहायता लिन सके हुन्थ्यो भन्ने लाग्छ अचेल मलाई।' उनकी आमा भौनीदेवीको मन पनि अचेल दरिएको छ। छोरीहरू आफ्नो अंशको लागि लडेकोमा गर्व लागेको उनले बताइन्। 'अब त छोरीहरू आफैं जान्ने भइसके, बाउसँग लडेर अंश लिए,' उनले भनिन्,'मलाई मेरा छोरीहरू देखेर ढुक्क हुन्छ।' कानुनले छोरीले छोरासरह अंश पाउनु पर्ने व्यवस्था गरे पनि व्यवहारमा धेरैले अंश माग्ने चलन छैन। अधिकारकर्मी गोमा आचार्यका अनुसार, आफन्तसँग नाता तोड्नुभन्दा अंश नमाग्नु नै राम्रो भनेर अंश दाबी नगर्ने छोरीहरू धेरै छन्। 

'छोराहरू जति भए पनि बराबर अंश दिने तर छोरीले अंश मागे शत्रुसरह मान्ने प्रवृत्ति छ। गाह्रो त भइहाल्छ,' उनले भनिन्।जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले अन्य विषयका मुद्दाका चाप बढ्दो रहे पनि छोरीले अंश पाउँ भन्दै आउने मुद्दा निकै कम रहेको बताए। पछिल्लो चार वर्षमा जिल्ला अदालत कञ्चनपुरको तथ्यांक हेर्दा छोरीले अंशदाबी गरेका दुई चारओटा मात्र मुद्दा छन्।
-Via Setopati / sabita budha 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu