थारु र नेपाली भाषा बिचको तुलना ।

Monday, 10 August 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[ भाेलाराम चाैधरी ]
( बुढीगंगा - २ बाैराह माेरंग )

संसारमा विभिन्न जातिहरुको अस्तित्व रहेको पाइन्छ । हरेक जातिको आ–आफ्नै भाषा, वंश, परम्परा, धर्म, कर्म र संस्कार रहेको हुन्छ । मानवको विशिष्टता जाहेर गर्ने कार्यमा भाषाको महत्वपूर्ण योगदान रहेको हुन्छ । नेपालमा १९५८ देखि नेपाली भाषाको माध्ययमबाट पठनपाठनको सुरुवत भएपछि यहाँका सबै मातृभाषीहरुलाई नेपाली भाषामै लेखपढ गर्न वाध्य हुनु पर्यो । जस पश्चात कतिपय भाषाको अस्तित्व नै लोप हुन पुग्यो । कुनै पनि जातिलाई जिवन्त रहन उसको भाषा जिवित रहनु पर्दछ ।  अहिले थारु भाषालाई मानक बनाउने कुरामा व्यापक छलफल र बहस भइरहेको पाइन्छ । बहसकै सन्दर्भमा कुन वर्ण लिने वा नलिने चर्चाको विषय बन्न पुगेको पाइन्छ । हरेक जाति कुनै न कुनै भाषाबाट प्रभावित भएकै हुन्छ । हाम्रो पढाइ लेखाइ नेपाली भाषाको माध्ययमबाट भएकोले त्यसको छाप हाम्रो मन मस्तिस्कमा परिसकेको छ । जसपश्चातः हामी थारु भाषा बोल्ने र लेख्ने क्रममा नेपाली भाषाको प्रभावलाई ग्रहण गर्न पुगछौ किनकी हामी अभ्यस्त भइ सकेका छौ । जसको परिणाम हाम्रो अपनत्व र मौलिकतामा असर परिरहेको हुन्छ । त्यसैले हामी थारु भाषालाई आफ्नो मौलिक उच्चारणको आधारमा लेख्न सकेनौ भने थारु भाषाको शुद्धतामा प्रश्न चिन्ह सिर्जना हुन बेर लागदैन । 

उच्चारणको आधारमा उच्चारित हुने ध्वनिलाई जस्ताको त्यस्तै लेख्य भाषामा उतार्न सकियो भने भाषाको स्वीकारोक्ति र महता बढेर जान्छ । भाषिक एकरुपता ल्याउन समयको स्थिरता वा गतिशीलता, भौगोलिक दूरीको सुगमता वा दुर्गमता, जनसम्पर्कको अधिकता वा न्यूनता, राजनैतिक सीमाङ्कन, सामाजिक एवम् साँस्कृतिक एकरुपता वा अनेकताका आधारमा वर्गीकरण गरेर अगाडि बढनु पर्ने हुन्छ । 

भाषालाई मानक बनाउने सवालमा भाषाविज्ञानलाई आधार मान्न सकिन्छ । यसकालागि ध्वनि, वर्ण, रुप, सन्धि, वाक्य र अर्थ अध्ययन गर्न जरुरी हुन्छ ।  जवसम्म दुई वा दुईभन्दा बढी भाषाको बिचमा तुलना गरेर अध्ययन गरिदैन तवसम्म वास्तविकतामा पुग्न सकिदैन । भाषा ध्वनिमा निर्भर रहन्छ । कुन भाषामा कस्तो किसिमको भाषिक व्यस्था र ध्वनि निस्किन्छ त्यसैलाई आधार मानेर लेखिन्छ । यहाँ ‘म’ र ‘तँ’ शब्दलाई व्यतिरेकीको आधारमा रुपायनात्मक भिन्नतालाई हेर्न सकिन्छ ।

भाषा नेपाली मैथली राजवंशी थारु

शब्द मैले हम मुई हमे

तँ तँु तुई त्याँ


थारु भाषाको ध्वनिगत विशेषता

(क) थारु भाषामा प्रायः व्यञ्जन संयोगको अभाव रहेको पाइन्छ । जस्तै ः–

 थारु शब्द    नेपाली श्ब्द       थारु शब्द    नेपाली श्ब्द

  धरम............धर्म             सवद........शब्द

  करम.......... कर्म             परान...... प्राण

  परदेस.........प्रदेश             पियाज..... प्याज

  दरसन......... दर्शन            पियास.......प्यास

(ख) थारु भाषाको शब्दमा ‘र’ को ठाउँमा नेपाली भाषाको पदान्त वा पदमध्यमा ‘ल’ पाइन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

फर............. फल            गुरिय........ गुलियो           

थारी.......... थाली            बरिय........ बलियो

पिपर.......... पिपल           हरदी........ हलेदो

पुवार......... पराल            परकल.......पलकेको    

सिमर........ सिमल             

         

(ग) थारु भाषाको पदादिमा ‘ल’ प्रयुक्त भएको ठाउँमा नेपालीमा ‘न’ प्रयोग भएको पाइन्छ । जस्तै ः–

थारु शब्द    नेपाली श्ब्द           थारु शब्द    नेपाली शब्द

लदी........... नदी                  लगातार....... निरन्तर

लया........... नयाँ                  लगता........ नजिक

ंलरा............ नाल                 लरम......... नरम

लिल.......... निल                  लहजा........नाफा

लौवा........ नाई                   लहु........ रगत

(घ) थारु भाषाको पदादि र पदान्तमा ‘न’ प्रयुक्त भएको ठाउँमा नेपालीमा ‘ल’ प्रयोग भएको पाइन्छ । जस्तै ः–

थारु शब्द    नेपाली श्ब्द           थारु शब्द    नेपाली शब्द

नाफ...........लाफा                अखने..............अहिले

निखा........... लिखा               पहिना...............पहिले

निप............ लिप्नु                सुनसान......... एकलो

नोचानोच.......लुछाचुडी            हरदियान.........पहेलो

नमहर.........लम्किनु                            

            

(ङ) थारु भाषाको पदान्तमा ‘स’ को ठाउँमा नेपालीमा ‘छ’ पाइन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

मानुस....... मान्छे            अलसी.........अल्छी

बनसी....... बल्छी            नखास.......तुच्छ

(च)  वर्ण लोप ः थारु र नेपालीमा एउटै शब्दले समान अर्थ दिएता पनि थारु भाषामा संयुक्त र उपसंयुक्त व्यञ्जन लोप भएको पाइन्छ । जस्तै ः–

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

सिनुर.........सिन्दुर           बाछी.......... बाच्छी

सनुख........ सन्दुक           गुचा..........गुच्चा

काछु........कछुवा             बोकला.......बकुल्ला

थिर........स्थिर               बन्की.......बन्धकी

नेता........निम्तो              निन.........निन्द्रा

कुटुम........कुटुम्ब            जिमदार......जमिन्दार

(झ) वर्णागम ः आगमको अर्थ आउनु हो । थारु भाषामा वर्णागमको प्रक्रिया देखिन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

साहरस.........सारस          सुसकारी.........सुसेली

सुराह........ सुरो             लुल्हा......... लुलो

भनसिया.....भान्से            बोकड़ा........बोका

बथुवा........बेथु             बसिया........ बासी

बावहन......बाहुन          पटुवा........पाटा

(ञ) वर्ण विपयर्य ः विपयर्य भनेको उल्टोपाल्टो हो । यसमा दुई ध्वनिहरु आ–आफ्नो ठाँउ परिवर्तन गरेर उच्चारण हुन्छ । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द     थारु शब्द    नेपाली शब्द

पिचास.......पिसाच           मुटुक....... मुकुट

पेरवा........परेवा            कचकच......चकचक    

कड़ोर......करोड            सहास.......साहस

(ट) थारु भाषामा एउटै शब्दको अगाडि र पछाडि दुईवटा वर्णमासँगै आकार (मात्रा) रहेको पाइदैन । जस्तै ः– 

थारु शब्द    नेपाली श्ब्द         थारु शब्द    नेपाली शब्द

कका......... काका                अाँँख............आँखा

ममा......... मामा                 माछ..........माछा

भसा...........भाषा                 गाल..........गाला

दना...........दाना                  छान..........छाना

तरा...........तारा                  थाह...........थाहा     

छाला.........छला                  लाट..........लाटा

छता..........छाता                  अधार.........आधार

नफा..........नाफा                 अवाज.........आवाज

घटा...........घाटा                 अकास........आकाश

मला..........माला                 नदान.........नादान

थारु भाषाको ध्वनिगत विशेषतालाई अध्ययन गरेर हामी लेखन प्रति कतिको सजग छौ बुझनु जरुरी छ । यसका अतिरिक्त ध्वनि उत्पादक अवयय, भाषिक ध्वनि उत्पादन प्रक्रिया, घोषत्वको आधारलाई अध्ययन गर्न अपरिहार्य रहेको हुन्छ । भाषालाई मानक र एकरुपता बनाउनकोलागि बहसमा यस्ता कुराको चर्चा गर्नु पर्ने हुन्छ । यसलाई मूर्तरुप दिन सामुहिक वा संस्थागत प्रयास हुनु जरुरी रहेको छ ।  त्यसैले हामी अरुको भाषा र लवजको प्रवाहमा प्रभावित नभई अपनत्वलाई आधार मानेर ध्वनिगत उच्चारणको आधारमा लेख्दै जाँदा अभ्स्त भई सकेपछि थारु भाषा लेख्नमा सहज र सरल बन्दै जानेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu