थारु समुदायका पुरुषले वर्षको एकदिन व्रत वस्ने अतवारी (अँट्वारी) पर्वको रमझम शुरु।

Saturday, 8 August 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली := थारु समुदायका पुरुषले वर्षको एकदिन व्रत वस्ने अतवारी (अँट्वारी) पर्वको रमझम थारु गाउँघरमा शुरु भएको छ । तर यस् बर्ष कोरोना भाइरसको संक्रमणले पर्वमा प्रभाव पर्ने देखिएको छ। कृष्णजन्माष्टमी पर्वको ठीक पछि आउने दोस्रो आइतबार पर्ने अतवारी पर्व यस् बर्ष भदौ ७ गते आइतबारको दिन परेको छ। थारु समुदायको अतवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यस् बर्ष भदौ ७ गतेको दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ। 

के हो अतवारी ?

थारु समुदायको प्रमुख चाड मध्येको एक हो, यो अतवारी पर्व। आइतबारका दिन पर्ने हुनाले यसको नाम अतवारी राखिएको हो । अतवारी पर्व खासगरी थारु पुरुषले व्रत बस्ने पर्व हो । यसअघिको कृष्णजन्माष्टमीमा महिलाहरुले ब्रत बस्ने गर्छन् भने अतवारीमा थारु पुरुषले । यद्यपि व्रत बस्ने काम स्वेच्छिक भएकाले कृष्णजन्माष्टमीमा पुरुषले पनि व्रत बसेको देखिन्छ । त्यस्तै, अतवारीमा केही महिलाले पनि व्रत लिने गर्छन् । थारु समुदायमा पुरुषलाई ‘थारु’ भन्ने प्रचलन छ । महिलाले आफ्नो श्रीमानलाई ‘थरुवा’ भन्ने गर्छन् ।

कसको पूजा हुन्छ ?

अतवारी पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्नेबारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसैगरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन् ।

भीमले थारु चेलीलाई ्एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले अतवारीमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनन्दिनको काममा सहयोग पुगेको तर्क छ ।

कसरी मनाइन्छ ?

अतवारी पर्वकालागि शनिबारको रात कुखुरा न बास्दै मध्येराती दर खाने गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मिठा परिकारले दर खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन् ।
आइतबार विहानदेखि अतवारीमा व्रत बसेकाहरुका लागि विभिन्न थरिका रोटी, खुर्मा, फलफूल, सर्वत (पेय पदार्थ), अग्यारी (सल्लाको धुलो), काठ दाउरा तयारी गरिन्छ । मध्यान्हसम्म सबै परिकार तयार भएपछि व्रतालुहरु नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । त्यतिबेलासम्म घरका महिलाहरुले व्रतालु बस्ने ठाउँलाई गोवर पानीले लिपोट गरी चोखो बनाउँछन् । सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बस्न दिन्छन् ।

यसरी व्रतालुकालागि खाने परिकार र अन्य तयारी गर्ने महिलाहरु पनि व्रत बसेका हुन्छन् । सो काममा पुरुषले पनि महिलालाई सँगसँगै सहयोग गर्छन् । दोपहर धल्केपछि करिब दुई तीन बजेकोबीचमा व्रतालुहरुले सल्लाको धुपसहित आसन अगाडि राखिएको अग्यारी (अङ्गार) मा खानका लागि तयार पारिएका परिकारको केही भाग र सल्लाको धुलोलाई एउटैमा मिचेर चोखो पानीले पहिले अग्नी देवतालाई चढाएर पूजा गर्छन् । यसरी अङ्गारमा चढाइएको ती परिकारपछि आगोमा धुवाँको मुस्लो आउँछ । धुवाँ आएमा व्रतालु चोखो भएको आगो निभेमा जुठो भएको मूल्याङ्कन अरुले गर्छन् ।

आसन अगाडि राखिएको खानेकुरालाई एकभाग छुट्याई अग्नीदेवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून खान वर्जित गरिएको हुन्छ । पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन् । व्रतालुले छुटयाएको खानेकुराको एक भाग विवाहित चेलीबेटीलाई उपहारकोरुपमा प्रदान गरिन्छ । जसलाई थारुमा ‘अग्रासन’ दिने भनिन्छ । आइतबारको दिन त्यसरी पूजापाठ भएपछि सोमबार विहान व्रतालुले फलहार गर्छन् । रातभरी केही नखाई बस्छन् ।

सोमबार विहानैदेखि भान्सेहरुले विभिन्न खानेकृुराको परिकार तयार गर्छन् । व्रतालुहरु पुनः नदी तलाउको चोखो पानीमा विहानै नुहाई धुवाई गरेर पुनः अग्नीदेवता र खाने परिकारको अग्यारीमा चोखो पानीकासाथ पूजापाठ गरेपछि खाना खान्छन् । यसरी खाना खानुभन्दा अगाडि पाकेका सवै पाकवानको एक भाग चेलीबेटीकालागि छुट्याएर राख्छन् । सोहीदिन सोमबार नै सो वस्तुलाई अग्रासनकोरुपमा उपहार दिन विवाहित चेलीको घरमा घरका सदस्यहरु जान्छन् ।

पर्वको महत्वः

अतवारी पर्व नितान्त थारु समुदायको पर्व हो । यसमा गैर थारुहरुको कुनै चासो र संलग्नता देखिदैन । यस पर्वले घरका सदस्यहरुबीचको एकता, सामुहिकतालाई जोड दिन्छ । घरका सदस्यहरु मिलेर एक ठाउँमा बस्नु र सोहीअनुरुप पर्व मनाउनुले एकअर्काप्रति विश्वास बढ्ने विश्वास थारु समुदायको छ । समाजमा बसेपछि सबैसँग मिलेर बस्नुपर्छ, एकअर्कालाई प्रेम र सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास पर्वले गराउँछ । अर्थात् यस पर्वले सामाजिक महत्व बोकेको देखिन्छ ।

त्यस्तै, कृषि काममा प्राय व्यस्त रहने थारु समुदायका प्रतिनिधिहरुले बचेखुचेको समयमा धार्मिक काममा पनि विश्वास गर्छन् । काममा सधैं डपेटिरहनु भन्दा पनि शरीरको विश्रामकालागि यस्ता चाडपर्वले भूमिका खेल्ने गर्छन् । थारु समुदायका अधिकांशले हिन्दू धर्म मान्दैआएका छन् । यद्यपि अहिले कतिपयले थारु समुदाय बौद्ध धर्म मान्ने विश्वास गर्छन् । वौद्धधर्मप्रति थारु प्रतिनिधिहरुलाई उत्प्रेरित गरेको देखिन्छ । अतवारीजस्तै अन्य पर्वमा पनि भगवानको पूजापाठ गरी धर्मकर्म गर्ने र एकअर्काप्रति विश्वास कायम गर्ने काम गर्छन् । अतवारी पर्वले पनि सोही पक्षलाई जोड दिने भएकाले यसको धार्मिक महत्व छ भन्न सकिन्छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu